जीबा लामिछाने विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै साझा सञ्जालमा सूत्रवद्ध गर्न लागिपरेका एक अगुवा अभियानकर्ता हुनुहुन्छ। गैरआवासीय नेपाली अभियान श्रीगणेश हुँदादेखि उहाँ निरन्तर क्रियाशीलताको सगरमाथा चढिरहनु भएको छ । विदेशमा आर्जन गरेको सीप, क्षमता र सम्पत्ति स्वदेशमा लगानी गर्न सके नेपालको विकासले एउटा ठोस आकार ग्रहण गर्न सक्ने र त्यसका लागि छरिएर रहेका नेपालीहरुलाई एउटा साझा सञ्जालमा आवद्ध गर्नुपर्ने देखेर यो अभियानमा सुरुवाटै लाग्नु भएका लामिछाने हाल एनएनआरएन-आइसीसीको उपाध्यक्ष हुनुहुन्छ। रुसबासी नेपालीहरुको पहलकदमीमा करिब ८ वर्षअघि सुरु भएको गैरआवासीय नेपाली अभियान यतिबेला ५६ बढी मुलुकमा विस्तार भइसकेको छ। रुसमा आफ्नो व्यवसाय र सामाजिक सेवा सक्रिय लामिछाने संघ स्थापना गर्नुपर्छ भन्ने विचार उत्पन्न हुँदादेखि अहिलेसम्म लामिछाने दिनरात अभियानमा जुटिरहनु भएको छ। उहाँले नेपालमा पनि विभिन्न सामाजिक तथा वित्तीय क्षेत्रमा लगानी गर्नुभएको छ। गैरआवासीय नेपाली अभियान सुरु भएको पनि एक दशक पुग्न लागेको छ। आगामी जुलाई २२-२५ सम्म गैरआवासीय नेपाली संघको छैठौ क्षेत्रीय सम्मेलन रुसको राजधानी मस्कोमा हुँदैछ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष लामिछाने मस्कोमा हुन गइरहेको सम्मेलन आयोजक समिति संयोजक पनि हुनुहुन्छ । यसै सन्दर्भमा हामीले गैरआवासीय नेपाली संघको अवस्था, समीक्षा र आसन्न छैठौ क्षेत्रीय सम्मेलनका विषयमा कुराकानी गरेका थियौ । यहाँ सोही कुराकानी प्रस्तुत गरेका छौ-सम्पादक
रुस गैरआवासीय नेपाली अभियान श्रीगणेश गर्ने मुलुक पनि हो, अभियान सुरु भएको झण्डै दशक पुग्न लाग्दा छैटौ क्षेत्रीय सम्मेलन मस्कोमा हुँदैछ, यसको तयारी कसरी भइरहेको छ ?
गैरआवासीय नेपाली अभियानको संस्थागत विकास हुन थालेको आठ वर्ष पूरा हुन गइरहेको छ । यस अवधिभित्र चारवटा विश्व सम्मेलनका साथै पाँचवटा क्षेत्रीय सम्मेलन सम्पन्न भइसकेका छन् । गैरआवासीय नेपाली संघको छैठौ क्षेत्रीय सम्मेलन आगामी २३-२५ जुलाईमा रूसको राजधानी मास्कोमा हुँदैछ । यो सम्मेलनमा विभिन्न देशका गैरआवासीय नेपाली प्रतिनिधिहरूको ठूलो संख्यामा सहभागिता रहने हामीले आशा गरेका छौं । क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि गैरआवासीय नेपाली संघको उपाध्यक्षको हैसियतले मेरो संयोजकत्वमा एउटा बृहत् आयोजक समिति र त्यसअन्तर्गत विभिन्न उपसमितिहरू गठन गरिएका छन् । मास्को संसारकै एक महंगो सहर मानिन्छ । यस कुरालाई ध्यानमा राखेर हामीले सम्मेलनमा भाग लिन इच्छुक सबै साथीहरूलाई सहभागिता गराउन विभिन्न संघसंस्थाहरूको पनि सहयोग लिइरहेका छौं । छैठौ क्षेत्रीय सम्मेलनमा संसारका सबै महाद्वीपका नेपालीहरूको प्रतिनिधित्व रहनेछ । यस सम्मेलनमा भाग लिनका लागि यूरोपीय देशहरूमा कार्यरत सबै नेपाली राजदूतज्यूहरूलाई निम्त्याएका छौं र नेपालबाट पनि उच्चस्तरीय प्रतिनिधिमण्डलको अपेक्षा राखेका छौं । अहिले छैठौं क्षेत्रीय सम्मेलनको तयारी कार्य तदारुकताका साथ भइरहेको छ । सम्मेलन संचालनस्थल तथा पाहुनाहरुको आवासका लागि सिटी सेन्टर, क्रेमलिन नजिकै सहुलियत दरमा होटल ‘होलिडे ईन’ बुकिङ गरिएको छ । सम्मेलनको theme चयन र कार्यक्रमको प्रारम्भिक रुपरेखा तयारी गर्ने काम भइरहेको छ ।
छैठौ क्षेत्रीय सम्मेलनमा के कस्ता कार्यक्रमहरु समावेश गरिनेछ केही उल्लेख गर्न मिल्छ ?
छैठौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको मूल नारा ‘गैरआवासीय नेपाली सञ्जालको सम्बर्द्धन – नेपालको प्रवर्द्धन’ भन्ने रहेको छ । यसै विषयवस्तुमा नै सम्मेलनका सबै कार्यक्रमहरू केन्द्रीत रहने छन् । हामीले गैरआवासीय नेपाली सञ्जालको व्यापकता र सृदृढीकरणका सम्भावनाहरूमाथि विचार गर्ने र नेपालको प्रवर्द्धनका लागि गैरआवासिय नेपाली सञ्जाललाई कसरी परिचालन गर्ने भन्ने विषयवस्तुमाथि छलफल, बहस तथा निर्णयहरु गरिने छन् ।
यो सम्मेलनमा कुनकुन क्षेत्रका कति गैरआवासीय नेपालीहरुको सहभागिता हुने अपेक्षा गर्नुभएको छ?
सबै तर्फबाट साथीहरुको उत्साह हेर्दा र हामीले अहिलेसम्म प्राप्त गरेको सूचनाअनुसार विश्वका ४० राष्ट्रबाट करीब ४०० जति प्रतिनिधिहरूको सहभागिता रहने अनुमान गरिएको छ । त्यसैगरी नेपालबाट नेपाल सरकारका प्रतिनिधि तथा उद्यमीरव्यवसायी लगायत मिडियाका प्रतिनिधिहरुको पनि उपस्थिति रहने छ ।
रुस एनआरएन अभियानको सुरुवातकर्ता र लागातार नेतृत्वसमेत गरेको मुलुक हो, यो सम्मेलनलाई कतिपयले विश्व सम्मेलनकै रुपमा आँकलन गरेका छन्, विगतका अन्य पाँच वटा क्षेत्रीय सम्मेलन र यसमा केही फरक अपेक्षाहरु गर्न सकिन्छ ? मस्कोमा हुने गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनका विशेषताहरुबारे बताइदिनुहोस् न ।
प्राय सबै सम्मेलनहरुका आफ्नै विशेषताहरु छन् । खाडी क्षेत्रमा भएका सम्मेलन हामीले वैदेशिक रोजगारीका ईश्यूहरुमा केन्द्रीत गरेका थियौ भने अमेरिकामा सम्पन्न सम्मेलनमा गैरआवासीय नेपालीहरुको सीप र क्षमतालाई कसरी नेपालको विकाससँग समाहित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । यसपटक हामी हाम्रो आफ्नो विश्वव्यापी सञ्जाललाई सम्बर्द्धन गर्दै नेपालको प्रवर्द्धन गर्ने विषयमा केन्द्रीत रहने छौ । यस सम्मेलनको एउटा संयोग तथा विशेषता के पनि छ भनेे – गैरआवासीय नेपालीहरूको एक सामूहिक परियोजनाका रूपमा मास्कोबाट ९० किलोमिटर टाढा कालुगा जिल्लामा निर्माणाधीन ‘नेपाली घर’ को उद्घाटन । सम्मेलनको क्रममा यस्तो समारोह पनि सुसम्पन्न गरिनु एक विशेषता हो भन्नुपर्दछ । विदेशमा गैरआवासीय नेपालीहरूको लगानीमा यो सायद पहिलो संयुक्त परियोजना हो र यसले रूसमा नेपाली साँस्कृतिक केन्द्रको रूपमा काम गर्ने छ ।
जहाँबाट एक प्रकारले एनआरएन अभियानको सुरुवात नै भएको थियो, त्यही सम्मेलन हुन झण्डै दशक कुर्नु पर्यो नि यसको कुनै खास कारणहरु छन् कि ?
यसको कुनै विशेष कारण त अवश्य पनि छैन । धेरै पहिलेदेखि नै विश्वका विभिन्न देशहरूमा रहेका नेपालीहरूले रूसमा पनि क्षेत्रीय सम्मेलन आयोजनाका लागि अनुरोध गर्दै पनि आउनु भएको हो । तर, मास्को, जस्तो कि माथि पनि भनियो, संसारकै एक महंगो सहर हुनु मात्र अवश्य पनि यसको कारण थिएन । तर रूसमा नयाँ प्रजातान्त्रिक व्यवस्था अपनाइसकेको भए तापनि विदेशीहरूका लागि प्रवेषाज्ञा प्राप्त गर्न कठिनाई भएकाले जहाँ सहज हुन्छ त्यहाँ नै क्षेत्रीय सम्मेलन गर्ने गरिएको थियो । अहिले आएर धेरै साथीहरूको चाहनालाई ध्यानमा राखेर विभिन्न कठिनाइहरूको समाधान पहिल्याउँदै धेरै पहिलेबाटै छैठौं सम्मेलनका लागि तयारी कार्य थालिएको छ । सम्मेलन सफल पार्न सबै साथीहरूबाट सहयोग पाइने आशा राखेका छौं ।
रुसबासी गैरआवासीय नेपालीहरुमा सम्मेलनको माहोल कस्तो पाउनु भएको छ ?
रूसमा गैरआवासीय नेपालीहरूको संख्या तुलानात्मक रुपमा निकै सानो छ । अल्पसंख्यक नेपाली समुदाय भएको हुनाले यहाँ बसोवास गरिरहेका नेपालीहरूको बीचमा आपसी सम्बन्ध र एकबद्धता कायम छ । पहिलोपल्ट रूसमा सम्पन्न हुन लागिरहेको छैठौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनलाई एउटा विशेष परिघटनाको रूपमा लिएर रूसमा रहेका सबै साथीहरूले सहयोगीको भावना प्रदर्शन गर्नुका साथै व्यक्तिगत उत्तरदायित्वको बोध गरिरहेका छन् । हामी सबैको एउटै चिन्ता छ ः रूसमा आउने पाहुनाहरूको स्वागत-सत्कार कसरी गर्ने ? छोटकरीमा भन्ने हो भने रूसमा रहेका सबै नेपालीहरूमा छैठौं क्षेत्रीय सम्मेलन सफल तुल्याउन ठूलो उत्तरदायित्वबोधको भावना रहेको मैले अनुभव गरेको छु ।
गैरआवासीय नेपाली संघ विधिवत रुपमा स्थापना भएको एक दशक पुरा हुन लागिसकेको छ, अहिलेसम्मको उपलव्धि, सम्भावना र समस्याहरु के के हुन् ?
नेपाली डायस्पोरा पहिलो पुस्ताको भएको हुनाले गैरआवासीय अभियानको आरम्भ भएको पनि एक दशक मात्र भएको छ । गतः ७-८ वर्षको समयावधिमा संसारका ५६ राष्ट्रहरूमा गैरआवासीय नेपाली संघअन्तर्गत राष्ट्रिय समन्वय परिषदहरूको स्थापना हुनु एउटा ठुलो उपलब्धि हो भन्नुपर्दछ । अहिले गैरआवासीय नेपालीहरूको विश्वव्यापी सञ्जालको सिर्जना भइसकेको छ । यसले गर्दा एक-आपसमा मित्रता र विश्वासको भावना बन्न गएको छ र संयुक्त लगानीका लागि पनि आधार निर्माण भएको छ । समस्याहरू नभएका होइनन्, तर सम्भावना पनि ठूलो छ… गैरआवासीय नेपाली संघ राजनैतिक दलबाट निरपेक्ष, धर्म, जाति, वर्णको भावनाबाट निरपेक्ष सबै गैरआवासीय नेपालीहरुको साझा सामाजिक संस्था हो । यस भावनालाई कायम राख्दै यसले नेपालका लागि केही योगदान गर्न सक्ने क्षमता पनि राख्तछ भन्ने विश्वासलाई कायम राख्ने प्रयास गरेका छौं । यस विश्वासलाई कतिसम्म पूरा गर्न सक्छौं भन्ने चुनौती पनि हाम्रो सामु छ ।
यो समयावधिमा गैर आवासीय नेपालीहरुको नेतृत्वमा परोपकार तथा अन्य सामाजिक कार्यहरु सम्पन्न भएका छन् । सामूहिक लगानीका केही परियोजनाहरुको सुरुवात भएको छ । वैदेशिक रोजगारीका समस्याहरुको निवारणमा नेपाल सरकारलाई घच्घच्याउने कार्यहरु भएका छन् । ठूलो संख्यामा रहेको जनसमुदायलाई सही ढङ्गले परिचालन गर्न सक्ने हो भने आर्थिक लगानी तथा सामाजिक क्षेत्रमा निक्कै कामहरु गर्न सकिने संभावना छन्
संस्था स्थापना भएको दश वर्ष पुग्न लाग्दा पनि कानुनी रुपमा संघ दर्ता हुन सकेको छैन, आखिर केले रोकेको छ संस्था दर्ता गर्नका लागि ?
गैरआवासीय नेपाली ऐन २०६४ मा गैरआवासीय नेपालीको परिभाषामा केही विरोधाभास रहेकाले यो परिमार्जन हुनुपर्छ भेनेर हामीले सुरुका दिनदेखि नै भन्दै आएका छौं । यो प्रकृया अगाडि नबढ्नुमा यही अस्पष्ट परिभाषा बाधक रहेको मैले अनुभव गरेको छु । वर्तमान सरकारी परिभाषा अनुसार विदेशमा अध्ययन गर्ने विद्यार्थीहरु र २ वर्षभन्दा कम अवधि विदेशमा बस्ने गैरआवासीय नेपालीहरु नपर्ने भएकाले परिभाषा परिमार्जित हुनु पर्दछ भन्ने हाम्रो माग हो । हाम्रो शक्ति भनेको नै हामीबीच कायम रहेको एकता हो । सरकारको परिभाषालाई जस्ताको त्यस्तै मान्दा हामीबीचको एकता नै खलबलिने छ । गैरआवासीय नागरिकको विश्वव्यापी परिभाषाअनुसार पनि विदेशमा १८३ दिन बसेको हुनुपर्ने प्रावधान रहेकाले हामीले सोही अनुरुप हुनुपर्छ भन्दै आएका छौं ।
तपाईहरुको टिमले नेतृत्व सम्हालेको पनि डेढ वर्ष पुरा हुन लागेको छ, यो अवधिमा यो यो काम गरिएछ भनेर पछाडि फर्केर हेर्दा के के पाउनु हुन्छ ?
वर्तमान टिमको विगत डेढ वर्षको कार्यकालमा केही रचनात्मक कार्यहरू भएका छन् । उदाहरणको रूपमा खुला विश्वविद्यालय (Open University) को अवधारणालाई लिन सकिन्छ । यसको कार्यान्वयनमा साथीहरूले सक्रियतापूर्वक काम गरिरहनु भएको छ । यसैगरी पहिले गरिएका प्रतिबद्धताअन्तर्गतका परियोजनाहरूको कार्यान्वयन पनि जारी राखिएको छ । सामाजिक क्षेत्रमा पनि केही कामहरु भएका छन् । सामूहिक लगानीका प्रयासहरुको थालनी भएको छ । एक पटकको नेपाली सधैको नेपाली भन्ने हाम्रो मूल नारालाई हृदयङ्गम गरी ‘गैरआवासीय नेपालीको नागरकता बचाऊ’ अभियानमा नेपाल सरकार र संविधानसभामा Lobbying गर्ने काम भएको छ ।
एनआरएनको क्षेत्रीय सम्मेलनहरुबाट विभिन्न प्रस्तावहरु पारित हुने गरेका छन्, त्यो कत्तिको कार्यन्वयनमा आएको पाउनु भएको छ?
आज पछाडि फर्केर हेर्दा सुरुका दिनहरूमा बढी उत्साहित भएर केही घोषणाहरू गरिएजस्तो लाग्दछ । अहिले सम्भावनाअनुसार यथार्थवादी ढङ्गले कार्यभार लिने र घोषणा गर्ने गरिएको छ । विदेशी रोजगारीसम्बन्धी विषयमा समस्या पहिल्याएर सुझावहरू तयार पारिएका छन् । विशेषतः यसै समस्यालाई ध्यानमा राखेर मध्यपूर्वमा क्षेत्रीय सम्मेलनहरू सम्पन्न गरिएका थिए । उदाहरणस्वरूप भन्ने हो भने यसै वर्ष गतः १४-१६ जनवरीमा दुबाईमा सुसम्पन्न भएको पाँचौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलनको मूल नारा पनि यसै उद्देश्यअनुरूप ‘सामूहिक लगानी तथा सुरक्षित आप्रवासन’ भन्ने राखिएको थियो । विगतमा गरिएका धेरै जसो प्रस्तावहरु कार्यान्वयन भएका पनि छन् । केही योजनाहरु कार्यन्वयन हुने क्रम जारी नै छ ।
कहिले सामूहिक लगानीको कुरा, कहिले मेघा प्रोजेक्टको कुरा त कहिले १०० मिलियन डलर कोषको कुरा उठाइने गरेको छ, त्यो व्यवहारमा कत्तिको देखिएको पाउनु भएको छ
जहाँसम्म लगानीको सवाल छ त्यसको हकमा के भन्नु आवश्यक छ भने गैरआवासीय नेपाली संघ एक सामाजिक संस्था भएको हुँदा यसले लोककल्याणकारी परियोजनाबाहेक स्वयं कुनै आर्थिक परियोजनाहरूमा लगानी गर्दैन । यसले विभिन्न सामूहिक लगानीका परियोजनाहरूको अवधारणा ल्याउंछ र लगानीकर्ताहरूका लागि एउटा पुलको रूपका काम गर्दछ । केही यस्ता परियोजनाहरू सुरु पनि भइसकेका छन् । कोषबारे पनि छलफल र विचारविमर्श जारी नै छ । गैरआवासीय नेपालीहरुको केही समूहले नेपालमा पर्यटन, शिक्षा, जलविद्युत, स्वास्थ्य, संचार, वित्तीय आदि क्षेत्रमा लगानी गरि नै रहेको छ ।
एनआरएनले कतिपय विषयलाई ‘हट स्क्याण्डल’को रुपमा अघि सार्ने तर कतिपय विषयलाई पुरै बेवास्ता गरेको गुनासो पनि सुनिन्छ, जस्तो यतिबेला मध्यपूर्वमा रहेका नेपालीहरुका विषयमा एनआरएनए केही बोलिरहेको छैन नि किन होला ?
गैरआवासीय नेपाली संघ विदेशमा बसोवास गरिरहेका उद्यमी, बुद्धिजीवी, विद्यार्थी, विदेशमा काममा जाने व्यक्ति र गोर्खा सेनामा काम गरेका व्यक्ति लगायत सबैको साझा संस्था हो । सबैका आ-आफ्ना फरक-फरक समस्याहरू छन् । वैदेशिक रोजगारीमा मध्यपूर्व र मलेसिया लगायत राष्ट्रमा काम गर्ने गैरआवासीय नेपालीहरुका मुद्दाहरुलाई हामीले सधै प्राथमिकतामा राखेका छौं । त्यसै हुनाले यस भेकमा सन् २००५ मा कतारमा र सन् २०११ मा दुबाईमा गरी दुईपल्ट क्षेत्रीय सम्मेलनहरू सम्पन्न गरिएका थिए । यसैबाट पनि यस क्षेत्रका समस्याहरूप्रति यस संस्थाको चासोको पुष्टि हुन्छ । त्यहाँ उत्पन्न हुन गएको वर्तमान समस्याप्रति पनि नेपाल सरकार, विदेशी रोजगारदाता एजेन्सीहरू र स्थानीय संस्थाहरूसँग उत्पन्न समस्या समाधानका लागि नियमित रूपमा छलफल चलाइराखेका छौं ।
मध्यपूर्वी मुलुकहरुमा आन्दोलनको आगो सल्कँदो छ, लिबियालगायतका मुलुकमा नेपाली कम थिए तैपनि उद्धारमा निकै समस्या देखियो, यदि आन्दोलन लाखौ नेपाली रहेका मुलुकमा फैलियो भने उनीहरुको उद्धारका विषयमा एनआरएनएमा कुनै योजनाबारे छलफल र बहस भएको छ ?
यो ज्यादै संवेदनशील विषय हो । यसले जहाँसुकै रहेका नेपाली समुदायलाई निकै चिन्तित तुल्याएको छ । विदेशमा रहेका तीस लाख गैरआवासीय नेपालीहरूमध्ये झण्डै आधा जति मध्यपूर्वमै छन् । त्यहाँ उत्पन्न हुने यस्ता अप्रत्यासित समस्याहरूको समाधान कसरी गर्न सकिन्छ भनेर नेपाल सरकार र यी देशहरूमा रहेका नेपाली राजदूतावासहरूसँग कुरा भएको छ । यो निकै गम्भीर प्रश्न भएको हुनाले खूब गम्भीरताका साथ यस विषयमा विचार गरिनुपर्दछ भन्ने मलाई लाग्छ । ठूलो संख्यामा नेपाली दाजुभाइ, दिदीबहीनीहरु रहेका देशहरु साउदी अरब, कुवेत, यूएई, कतार, मलेसिया तुलनात्मक रुपमा हाललाई त्यस्तो चर्काे रुपमा समस्या नआएको भएता पनि बेलैमा यसबारेमा सोच्नु जरुरी छ । उपचारभन्दा रोकथाम उत्तम उपाय हो भन्ने प्रचलन पनि रहेको छ ।
पुनः पुरानै विषयमा फर्कौ, जहाँबाट एनआरएन अभियान सुरु भयो, त्यही चाँडै छैठौ क्षेत्रीय सम्मेलन हुँदैछ, यस अवसरमा विश्वभर रहेका एनआरएनहरुलाई के अपिल गर्न चाहनु हुन्छ ?
हाम्रो मातृभूमि निक्कै कठिन मोडमा पुगेको छ । अहिले हामी विभिन्न कारणले विश्वका जुन कुनामा बसे पनि देशप्रतिको कर्तव्यबाट विमुख हुन सक्तैनौं । विदेशमा बसोवास गरिरहेका सम्पूर्ण नेपालीहरूले यस कुरालाई हृदयङ्गम र मनन गरिरहेका छन् भन्ने म ठान्दछु । आफू जन्मेको ठाउँ, आफ्नो गाउँ, आफ्नो जिल्लाका लागि केही न केही गरौं भन्ने मेरो सबैमा अनुरोध छ । जन्मभूमि र जननी प्रतिको कर्तव्यबाट विमूख नरहन म सबै गैरआवासीय नेपाली साथीहरुलाई अनुरोध गर्दछु । यसपल्ट गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन रूसमा हुन गइरहेको छ । रूसमा रहेका सारा नेपाली साथीहरू यस सम्मेलनलाई सफल तुल्याउन एकबद्ध भएर तयारी कार्यमा जुटिसक्नुभएको छ । मास्कोमा ग्रीष्मयाममा निकै रमाइलो मौसम हुन्छ । म सबै नेपालीहरूलाई ‘गैरआवासीय नेपाली सञ्जालको सम्बर्द्धन – नेपालको प्रवर्द्धन‘ भन्ने नाराअन्तर्गत सम्पन्न हुने छैठौं क्षेत्रीय सम्मेलनमा सहभागी भई वा आ-आफ्नै ठाउँमा रही आपसी सम्पर्क र सद्भावना बढाउने सम्भावनाको उपयोग गर्न पनि आह्वान गर्दछु ।
source : http://www.nepalrus.com